- नेपालमा जनसंख्या वृद्धि गर्ने सम्भावित उपायहरूको कुनै स्पष्ट र सजिलो उत्तर छैन । बच्चा जन्माउने निर्णय व्यक्तिगत रोजाइमा आधारित हुन्छ, र एउटा बच्चा हुर्काउनकै लागि पनि जोडीहरूले थुप्रै चुनौतीहरूको सामना गर्नुपर्छ ।
नेपालमा वृद्ध जनसंख्याको अनुपात तीव्र गतिमा बढिरहेको छ भन्ने विषय विभिन्न प्रतिवेदनहरू तथा अनुसन्धानहरूले देखाएका छन् । सामान्यतया वृद्ध जनसंख्या युरोपेली विकसित मुलुकहरूमा बढी देखिन्छ । यसको प्रमुख कारण प्रजनन् दरमा गिरावट र विद्यमान जनसंख्यामा सबैलाई उपलब्ध स्वास्थ्य सेवाको पहुँचका कारण दीर्घायु हुने अवस्था हो, जसले अन्ततः राज्यलाई आर्थिक भार थप्ने परिस्थिति सिर्जना गर्छ । किनभने यस्तो अवस्थामा राज्यलाई कर तिर्ने जनसंख्याको संख्या घट्दै जान्छ, तर राज्यबाट आर्थिक सेवा तथा सुविधा लिने जनसंख्या बढ्दै जान्छ । अर्थात्, औद्योगिक र प्रविधिको विकासले गर्दा मानिसहरू एकल जीवन बाँच्ने र सकेसम्म सन्तान नजन्माउने प्रवृत्ति बढ्दो छ ।
उदाहरणका लागि, Eurostat का अनुसार, सन् २०२३ मा बुल्गेरियाको प्रजनन् दर युरोपमा सबैभन्दा उच्च थियो, तर त्यो पनि केवल १.८१ मात्र थियो । त्यसैगरी, फ्रान्सको १.६६ तथा हङ्गेरीको १.५५ थियो । निकै न्यून प्रजनन् दर भएका देशहरूमा माल्टा (१.०६), स्पेन (१.१२) र लिथुआनिया (१.१८) पर्दछन् ।
जनसंख्या अध्ययनका अनुसार, प्रतिस्थापन प्रजनन् दर (replacement fertility rate) कम्तीमा २.१ हुनुपर्ने मानिन्छ, जसले पुरानो जनसंख्यालाई प्रतिस्थापन गरेर नयाँ जनसंख्या निर्माण गर्छ । यसै आधारमा हेर्ने हो भने, EU मा सन् १९६० मा औसत प्रजनन् दर ६.६६ थियो, जुन सन् २०२२ मा घटेर ३.८८ मा झरेको छ ।
त्यस्तैगरी, Japan Times को समाचारअनुसार, सन् २०२४ मा जापानको प्रजनन् दर १.१५ मात्र थियो, जुन करिब ९ वर्षदेखि लगातार घट्दै आएको देखिन्छ ।
नेपाल सन्दर्भ
सन् २०२३ मा प्रकाशित होमनाथ चालिसेको एक शोध लेख अनुसार, “नेपालमा पनि वृद्ध जनसंख्याको अनुपात तीव्र गतिमा बढिरहेको छ । सन् २०२१ को जनगणनाका अनुसार, नेपालमा २९.७ लाख वृद्ध व्यक्ति रहेका छन्, जुन सन् सन् २०११ को अघिल्लो जनगणनाको तुलनामा ३८.२ प्रतिशतले वृद्धि भएको हो । वृद्ध जनसंख्या हाल नेपालको कुल जनसंख्याको १०.२१ प्रतिशत पुगेको छ । यस दशकमा नेपालको औसत जनसंख्या वृद्धिदर ०.९२ प्रतिशत रहेको छ भने वृद्ध जनसंख्याको वृद्धिदर वार्षिक ३.२९ प्रतिशत रहेको छ । अर्कोतर्फ, नेपालको कुल प्रजनन् दर प्रतिस्थापन स्तरभन्दा कम छ, शिशु मृत्युदर हरेक हजार जीवित जन्ममध्ये २३ रहेको छ, र औसत आयु हाल लगभग ७१ वर्ष पुगेको छ । नेपालको वृद्धावस्थाको सूचकांक सन् २०११ मा २३.३ थियो, जुन सन् २०२१ को जनगणनामा बढेर ३६.७ मा पुगेको छ ।”
नेपालमा विसं २०७८ मा कुल प्रजनन् दर १.९४ रहेको छ, जबकि वि सं २०३८ मा यो दर ६.२९ थियो । त्यस्तै, २०४६ मा कुल प्रजनन् दर ५.२१ थियो । अहिलेको प्रजनन् दरले स्पष्ट रूपमा देखाउँछ कि नेपालको जनसंख्या प्रतिस्थापन दर (२.१) भन्दा कम भइसकेको छ ।
यो जनसंख्या ह्रासको (जनसंख्या घट्ने) अवस्थालाई थप बल दिने अर्को पक्षको रूपमा, नेपालमा पहिलो पटक गरिएको यौन समस्या सम्बन्धी राष्ट्रिय अध्ययनले देखाएको छ कि ७२.२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिला यौन समस्याबाट ग्रस्त छन् । उक्त प्रतिवेदनअनुसार, औसतमा ३० वर्षभन्दा माथिका ६८ प्रतिशत नेपालीहरूमा कुनै न कुनै प्रकारको यौन समस्या रहेको उल्लेख गरिएको छ ।
बहुआयामिक असर
वृद्ध जनसंख्या वृद्धि हुने सामान्य कारणमध्ये प्रमुख कारण प्रजनन् दरको कमी हो । नयाँ जनसंख्या थपिँदैन भनेको अर्थ हो—बच्चा जन्मिने दर घट्दो छ, तर अर्कोतर्फ स्वास्थ्य सेवामा पहुँच बढेकाले अहिलेको जनसंख्या लामो समयसम्म बाँच्छ । यसले सरकारमाथि सामाजिक सुरक्षाको थप बोझ पर्ने देखिन्छ, जसले गर्दा नेपालले “डेमोग्राफिक डिभिडेन्ट” अर्थात् जनसांख्यिक लाभांशको फाइदा उठाउन नपाउने जोखिम बढ्दो छ ।
खाडी मुलुकमा गएका श्रमिकहरू पनि केही समयपछि वृद्ध भई, प्रायः स्वास्थ्य समस्यासहित फर्कने सम्भावना उच्च छ । यता नेपालमै रहेका जनसंख्या पनि वृद्ध हुँदै जाने देखिन्छ । यस्तो अवस्थामा भविष्यमा नेपालमा स्वास्थ्य सेवा दिनको लागि चिकित्सक तथा नर्सहरू उल्टै विदेशबाट आयात गर्नुपर्ने अवस्था सिर्जना हुन सक्छ । जनसंख्या घट्नु भनेको आर्थिक विकासमा अवरोध आउनु हो, जुन राष्ट्रिय संकटको रूपमा बुझ्न सकिन्छ । यस्तो अवस्थामा उत्पादनमूलक वस्तुहरू देखि लिएर अत्यावश्यक सेवाहरू समेत विदेशबाट आयात गर्नुपर्ने हुन सक्छ । त्यसको असर सुरक्षातर्फ पनि पर्न सक्छ—जस्तै प्रहरी तथा सेनामा भर्ना हुने उमेर समूहको जनसंख्या घट्नाले देशको सुरक्षा प्रणालीमा थप चुनौती थपिन सक्छ । यसरी वृद्ध जनसंख्याको सम्भावित बहुआयामिक असरहरूलाई समाधान गर्न दीर्घकालीन र सुशिक्षित रणनीति आवश्यक पर्छ ।
सैद्धान्तिक रूपमा जनसंख्या घट्ने प्रक्रिया त्यतिबेला सुरु हुन्छ जब कुनै राष्ट्रमा पर्याप्त आर्थिक वृद्धि, गुणस्तरीय स्वास्थ्य सेवा, महिलाको सशक्तीकरण, औद्योगिकीकरण र प्रविधिको विकास हुन्छ । तर नेपालको सन्दर्भमा यस्तो अवस्थाहरू अझै पूर्ण रूपमा विकास भइसकेका छैनन् । त्यसैले, जनसंख्या घट्ने कारणहरूको सन्दर्भमा पश्चिमी धारणा नेपालमा पूर्ण रूपमा लागू हुँदैन ।
हाल ४० लाखभन्दा बढी नेपालीहरू खाडी मुलुक तथा अन्य मध्यपूर्वीय देशहरूमा कार्यरत छन् । उनीहरू जीवनसाथीहरूसँग बस्न नपाउने अवस्थाले पनि प्रजनन् दरमा प्रत्यक्ष असर पु¥याएको देखिन्छ । नेपाल टाइम्सका अनुसारः “गल्फ र मलेसियाबाट फर्किएका प्रवासी श्रमिकहरू काठमाडौंको परोपकार प्रसूति तथा महिला अस्पतालमा आउनेमध्ये ४० प्रतिशत केसहरू बाँझोपन सँग सम्बन्धित छन् ।” विभिन्न अध्ययनहरूले देखाएका छन् कि विदेशबाट फर्किएका पुरुषहरूमा, विशेष गरी अत्यधिक गर्मीमा काम गर्ने र धूम्रपान तथा मदिरापान जस्ता अस्वस्थ जीवनशैली अपनाउने श्रमिकहरूमा, बाँझोपनको समस्या व्यापक देखिएको छ ।
वृद्धावस्थासँग सम्बन्धित वृद्धभत्ताको (OAA) सन्दर्भमा आर्थिक प्रभावहरू.
NIPoRe द्वारा तयार गरिएको प्रतिवेदन अनुसार, नेपालमा योग्य वृद्ध जनसंख्याको संख्या २०२३ देखि २०५० सम्ममा १२८ प्रतिशत ले वृद्धि हुने अनुमान गरिएको छ। यो महत्वपूर्ण जनसांख्यिकीय परिवर्तनले वृद्धभत्ता (Old Age Allowance - OAA) कार्यक्रमको वित्तीय आवश्यकतामा प्रत्यक्ष असर पार्नेछ। सरकारको OAA मा खर्च २०२३ मा ९१.२ अर्ब रुपैयाँ बाट बढेर २०३० मा ११४.८ अर्ब रुपैयाँ र २०५० सम्ममा २०९.१ अर्ब रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ। यद्यपि कुल खर्चमा वृद्धि हुने भए पनि, OAA मा खर्च हुने कर राजस्वको अनुपात २०२३ मा ९ प्रतिशतबाट घटेर २०५० मा ७.३ प्रतिशत पुग्ने अनुमान गरिएको छ।
वृद्ध जनसंख्याको तीव्र वृद्धिले मुलुकको अर्थतन्त्रमा पनि गम्भीर असर पार्ने देखिन्छ, किनभने वृद्ध वर्गले आर्थिक उत्पादनमा खास योगदान गर्दैनन्। काम गर्ने उमेरको जनसंख्या घट्दै जाँदा कर राजस्वमा समेत गिरावट आउने सम्भावना हुन्छ। यसले दीर्घकालीन रूपमा राजस्व संकलन क्षमतामा असर पार्दै सामाजिक सुरक्षा प्रणालीको दिगोपनामा चुनौती सिर्जना गर्न सक्छ।
अन्त्यमा,
यो अवस्थाले हामीलाई धनी नबनाइ सिधै वृद्ध हुँदै जाने दिशातर्फ धकेल्दैछ । नेपाल सरकारको एक प्रतिवेदन अनुसार, नेपालसँग डेमोग्राफिक डिभिडेन्ड (जनसांख्यिक लाभांश) बाट लाभ उठाउनका लागि अब मात्र २७ वर्ष बाँकी छ—त्यो समय हो, जब कार्यशील जनसंख्या बालबालिका र वृद्धहरूको तुलनामा बढी हुन्छ । राष्ट्रिय तथ्यांक कार्यालयद्वारा प्रकाशित डेमोग्राफिक डिभिडेन्ड प्रतिवेदन अनुसार, नेपाल हाल जनसांख्यिक लाभांश अवधिको मध्य चरणमा रहेको छ, र वि.सं. २१०८ पछि वृद्ध जनसंख्या चरणमा प्रवेश गर्ने अनुमान गरिएको छ ।
नेपालले वि.सं. २०७८ सालदेखि डेमोग्राफिक डिभिडेन्डबाट लाभ लिन सुरु गरेको हो, र २१०८ सालपछि देशको जनसंख्या क्रमशः बुढ्यौली अवस्थातर्फ अग्रसर हुने प्रक्षेपण गरिएको छ ।
एका तर्फ नेपालले जनसांख्यिक लाभांशको अनुभव गरिरहेको छ भने अर्कोतर्फ वृद्ध जनसंख्याको अनुपात पनि तीव्र गतिमा बढिरहेको छ । हाल नेपालमा १०.२१ प्रतिशत जनसंख्या वृद्ध अवस्थामा पुगेको छ । द्रुत गतिमा घटिरहेको कुल प्रजनन् दरका कारण बुढ्यौली अवस्था झनै चाँडो आइरहेको छ, जसले सम्भावित जनसांख्यिक लाभांशको फाइदामा चुनौती उत्पन्न गरिरहेको छ ।
नेपालमा जनसंख्या वृद्धि गर्ने सम्भावित उपायहरूको कुनै स्पष्ट र सजिलो उत्तर छैन । बच्चा जन्माउने निर्णय व्यक्तिगत रोजाइमा आधारित हुन्छ, र एउटा बच्चा हुर्काउनकै लागि पनि जोडीहरूले थुप्रै चुनौतीहरूको सामना गर्नुपर्छ ।
रेखीय विकास मोडेलमा, व्यक्तिको सशक्तिकरणले बढी व्यक्तिवादी समाज निर्माण गर्दछ, जसले सानो परिवार प्रणालीलाई प्रोत्साहित गर्छ र क्रमशः एक्लै बस्ने मानिसहरूको संख्या बढाउँदै लैजान्छ । विज्ञान र प्रविधिको विकाससँगै मानिसहरूले परम्परागत मूल्य र मान्यताहरूलाई चुनौती दिन थालेका छन् ।
केही विचारधाराहरूका लागि यो परिवर्तन स्वाभाविक र प्रगतिशील मानिन्छ, तर अरूका लागि यो चिन्ताजनक अवस्था पनि हुन सक्छ । मानिसहरु सामाजिक प्राणी हुन्, र सिकार तथा संकलन युगदेखि नै मानिसहरुले समुदायमा आधारित भावना र आकांक्षाहरूको विकास गरेका छन्, जुन मानव अस्तित्वको लागि आवश्यक थिए ।
पश्चिमी देशहरूमा जब प्रजनन् दर घट्छ, तब उनीहरूले श्रम आपूर्तिका लागि प्रायः ग्लोबल साउथ (विकासोन्मुख राष्ट्रहरू) बाट कामदारहरू भाडामा लिन्छन् । तर यदि ग्लोबल साउथका देशहरू—जस्तै नेपाल—मा पनि जनसंख्या घट्न थाल्यो भने के होला ?
यसको एक सम्भावित उत्तर हो—हामी स्वचालन र कृत्रिम बुद्धिमत्ताको युगमा प्रवेश गर्नेछौं । तर यसले अर्को गम्भीर प्रश्न जन्माउँछः के हामी मानवताको आधारभूत संरचनामा चुनौती दिने अदृश्य शक्तिहरूको सामना गर्न सक्षम हुनेछौं त ? यसको उत्तर सहज छैन ।
जिओफ्री हिंटन, जसलाई “कृत्रिम बुद्धिमत्ताका गडफादर” भनिन्छ, प्रारम्भमा उनले आर्टिफिसियल जेनेरल इन्टेलिजेन्स (AGI आउनलाई ५०–६० वर्ष लाग्ने अनुमान गरेका थिए । तर पछि उनले आफ्नो अनुमान परिमार्जन गर्दै ५ वर्षभित्रै AGI सम्भव हुने बताएका छन्, र सन् २०२८ सम्म AGI मानव बुद्धिमत्तालाई उछिन्न सक्छ भन्ने चेतावनी पनि दिएका छन् । साथै, उनले आगामी ३० वर्षभित्र मानव जाति नष्ट हुने सम्भावना २० प्रतिशतसम्म हुन सक्ने उल्लेख गरेका छन् ।
यो अवस्था चिन्ताजनक छ—एकातर्फ मानिसहरू कम बच्चा जन्माइरहेका छन् भने अर्कोतर्फ विज्ञान र प्रविधिको तीव्र विकासले अत्याधुनिक AGI लाई झन् तेज गतिमा अगाडि बढाइरहेको छ । त्यसैले प्रश्न उठ्छ—के मानव जाति जानाजानी वा नजानिँ गरी आफैंलाई विनाशतर्फ डोर्याइरहेको छ ? कि हामी मानव सभ्यताको अर्को चरणतर्फ प्रवेश गरिरहेका छौं ? यसको उत्तर अझै स्पष्ट छैन ।
नोट: यस लेखमा व्याकरण सुधार तथा केही विवरण संकलनको लागि लेखकले च्याट जिपिटीको सहयोग लिएका छन् । तथापि, लेख पूर्ण रूपमा मौलिक रहेको लेखक स्वयं घोषणा गर्छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
पुर्वगृहमन्त्री लेखक पाँच महिनापछि पुगे जलेको पुर्खौली घर
-
कांग्रेस नेता ढकालद्वारा हिन्दू राष्ट्र र संवैधानिक राजसंस्थाको एजेन्डा निर्वाचन घोषणापत्रमा समेट्न लिखित प्रस्ताव
-
मकवानपुर–१ मा अनुभवी र नयाँ अनुहारबीच रोचक चुनावी भिडन्त
-
ललितपुरमा एमाले र माओवादीका पूर्ववडा अध्यक्ष कांग्रेसमा प्रवेश
-
काँग्रेसमै फर्किंइन् रास्वपा जुम्ला उपसभापति तारा शाही
धेरै पढिएको
-
बदलिदो विश्व परिस्थतिमा नेपालले कस्तो परराष्ट्र नीति अवलम्बन गर्नुपर्छ?
-
गुगल सर्च अब 'पर्सनलाइज' हुने, निजी कुराको पनि दिने छ जवाफ
-
यी हुन् विश्वका सबैभन्दा बढी ट्राफिक जाम हुने पाँच शहर
-
चर्चित निर्वाचन क्षेत्र: झापा–५ को चुनावी गणित, ओलीको गढमा बालेनको चुनौती
-
विनम्र भन्दा रुखो प्रश्न सोध्दा एआईले दियो सहि जवाफ !
विशेष
'उर्जा संकटकाल': २८,५०० मेगावाटको लक्ष्य प्राप्ति र नीतिगत अवरोधहरूको निकास
लगानीकर्ताहरूका लागि अर्को ठुलो समस्या सेबोन र आईपीओ निष्कासनमा देखिएको ढिलासुस्ती हो । अहिले करिब ५० वटा जलविद्युत कम्पनीहरूको आईपीओ पाइपलाइनमा छ । महिनामा एउटा कम्पनीलाई मात्र अनुमति दिने हो भने पनि यी सबैलाई ५० महिना लाग्छ ।